काठमाडौं- मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न आग्रह गरेका छन्।
बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आइतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन्।
जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले आसानी नाम दिइएको यस आँधी निकै तिब्र गतिमा चलेको बताए।
सो आँधीको असर भारतको उडिसा लगाएत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गते देखि प्रभाव देखिने उनले बताए।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए।
'२५ गतेदेखि बंगालको खाँडीमा न्यून चापिय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ। यो न्यून चापिय अवस्था वैशाख २२ गतेदेखि उत्पन्न भएको थियो। न्यून चापिय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ। उक्त समुद्री आँधीको प्रभाव नेपालको पूर्वी भागमा खास गरेर वैशाख २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ' उनले भने।
उसै पनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था थियो। अहिले नयाँ प्रणालीले गर्दा चुनावको समयमा पानी पर्ने सम्भावना देखिएको छ।
'चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव। दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ। त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ' उप्रतीले भने।
जलवायुविद् डा। उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्।