काठमार्डौं- नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ।
आज दिउँसो करिब १ बजेतिर मिठाइ खाएका उनीहरू बिरामी परेका थिए। उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। यसैबीच वैशाख ३० गतेको स्थानीय तह चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई प्रहरीले आग्रह गरेको छ।
आइतबार एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुनको लागि प्रस्ताव आएपछि त्यसको सेवन गरेको पाइएको र त्यसपश्चात केही बेहोस हुने र केही चक्कर लागेर लड्ने जस्ता घटना घटेको पाइएको भन्दै त्यस्ता पदार्थ नलिन अनुरोध गरेको हो।
निर्वाचन जस्तो संवेदनशीलस समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए प्रहरीलाई तत्काल खबर गर्न प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जारी गरेको सूचनामा आग्रह गरिएको छ।
सर्लाहीको हरिवन नगरपालिकामा माओवादीका वडाध्यक्षका उम्मेदवारसहितलाई चुनाव प्रचारका क्रममा दिइएको खानेकुरामा विष पाइएको समाचारहरु सार्वजनिक हुँदा प्रहरीले यस्तो अनुरोध गरेको हो।