काठमाडौं– विराटनगर महानगरमा नेकपा एमालेबाट उपमेयरको प्रतिस्पर्धी शिल्पा निरौला (कार्की)विरुद्ध दायर भएको रिट पेसी तोकिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ।
निरौलाविरुद्धको पेसी ख नम्बरमा रहेको छ। उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
उपमेयर कार्कीले राजीनामा पेस नगरी उम्मेदवारी दर्ता गराएको र राजीनामाका लागि किर्ते विवतरण पेस गरेको दाबी रिटमा गरिएको छ। यादवले आफ्नो प्रतिस्पर्धी कार्कीविरुद्ध वैशाख २१ गते रिट दायर गरेका थिए।
उम्मेदवार कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सुरुमा विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
उक्त उजुरीमा निर्णय गर्दै आयोगले दाबी नपुगेको भन्दै खारेज गरेको थियो। यसरी खारेज गर्ने निर्णयसमेतलाई चुनौती दिँदै जसपाका उम्मेदवार यादव सर्वोच्च पुगेका हुन् ।