काठमाडाैं- एसाेसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी जारी अध्यादेशको स्वागत गरेको छ।
पटक–पटक उठाउँदै आएको मागलाई सम्बोधन गर्दै सरकारले यसपटक जेल विथ आउट बेल अर्थात धरौटीमा रिहा नहुने व्यवस्था (पुर्पक्षकालागिथुनामा पठाउने व्यवस्था)लाई थप कडाईका साथ लागू गरेको भन्दै अफिनले स्वागत गरेको हो।
अध्यादेशमा ‘स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने’ मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ’ भन्ने प्रावधान थप गरिएको छ।
पछिल्लो समय सामान्य भन्दा सामान्य समस्या हुँदा पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण हुने अमानवीय र अस्वभाविक घटनाहरु बढ्न थालेका थिए।
अफिन र नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने यस्ता घटना बढ्न नदिनका लागि कडा कानूनी व्यवस्था हुनुपर्ने माग उठाइरहेको थियो।
अध्यक्ष वसन्त चौधरीले बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशमा गरिएको उचित र समयसापेक्ष कानूनी व्यवस्थाले देशभर रहेका ३५० भन्दा बढी निजी स्वास्थ्य संस्था तथा त्यसमा कार्यरत ५० हजार भन्दा बढी मेडिकल र प्यारामेडिकल जनशक्तिले निर्भिकतापूर्वक बिरामीहरुको सेवामा समर्पित हुने वातावरण बनेको विश्वास लिएका छन्।