काठमाडौं- डा प्रीति भुसाल सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। समसामयिक महत्वपूर्ण तीन सन्देशहरू विश्वको सर्वोच्च शिखर सगरमाथा मार्फत विश्वभर प्रवाह गर्ने डा प्रीति भुसालको अभियान सफल भएको छ। भुसाल सहितको टोलीले बिहीबार विहान सगरमाथाको सफल आरोहण गरेको हो।
कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गरेको उनी बताउँछिन्।
त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको आफ्नो दोस्रोे लक्ष्य रहेको उनले बताएकी छन्। हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा पनि आफूले सगरमाथा आरोहण गरेको भुसाल बताउँछिन्।
भुसालको आरोहणको व्यवस्थापन हिमालयन सेपर्ड टिमले गरेको थियो। अर्घाखाँची स्थायी घर भएकी भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन्।