धनकुटा- धनकुटाको चौविसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय अटलबहादुर सूर्जे मगरको मृत्यु भएको छ।
उनी आफू विजय भएको खबर पनि सुन्न नपाई बेहोस भएका थिए। गाउँमा रहेको मतगणना स्थलमा उनको जितको घोषणा हुँदैथियो, उता अस्पातालमा भने चिकित्सक उनको मृत्यु भएको घोषणा गर्दै थिए। मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको जनाइएको छ।
यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए। तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो।
शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो। तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियु खाली नरहेको बताएपछि विराटनगर लगिएको छोरा मदनले बाताए। विराटनगरको नोबेल अस्पतालमा पुर्याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे।