काठमाडौं- स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापाको मत प्रतिस्पर्धीको तुलनामा निकै कम आएको छ।
जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रेकी थापाले अहिलेसम्म १७ मत ल्याएकी छिन्। उपाध्यक्षमा एमालेकी देउकुमारी गुरुङ अग्रस्थानमा छिन्। गुरुङले १ हजार ९ सय ५९ मत ल्याएकी छिन्। यस्तै माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले १ हजार ३ सय ५७ मत ल्याएका छन्।
उपाध्यक्ष उम्मेदवार थापा २०५७ सालतिर माओवादीमा लागेर भूमिगत भएकी थिइन्। उनी माओवादीमा बाबुराम भट्टराई निकट थिइन्। भट्टराई अहिले जसपामा भएकाले उनी पनि अहिले सोही पार्टीमा छिन्।
थापाले शान्तिप्रक्रियाका क्रममा शिविरमा नै रहँदा १८ महिने सिएमए कोर्ष पूरा गरेकी थिइन्। त्यसपछि उनले ३ वर्षे ल्याब टेक्निसियनको पढाइ समेत गरिन्। ल्याब टेक्निसियनको अध्ययन पछि उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक वर्षभन्दा बढी काम गरिन्। यस्तै उनले वीर अस्पतालमा पनि ल्याब टेक्निसियन भएर काम गरेकी थिइन्।