पाल्पा- पाल्पामा स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मी पनि चुनावी मैदानमा छन्। दुई स्वास्थ्यकर्मी राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। माथागढी गाउँपालिकामा एमालेबाट पालिका अध्यक्षमा सिअहेबबाट राजिनामा दिएका यमबहादुर चिदी र उपाध्यक्षमा अनमीबाट राजिनामा दिएकी विष्णुमाया लुङ्चे चुनावी मैदानमा छन्।
हालसम्मको मतगणना अनुसार अध्यक्ष र उपाध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवारभन्दा पछाडि छन्।
अध्यक्षका उम्मेदवार चिदीले अहिलेसम्म १ हजार ५९६ मत ल्याएका छन् भने उपाध्यक्ष लुङ्चेले १ हजार ५ सय ८० मत ल्याएकी छिन्। मतगणना अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार सन्तोषकुमार थापाले १ हजार ६ सय ८ मत ल्याएर अग्रस्थानमा छन् भने उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार विजयाकुमारी भट्टराईले १ हजार ६०३ मत ल्याएर अग्रस्थानमा छिन्।
स्वास्थ्यकर्मी चिदी राजीनामा दिनुअघि जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए। लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत थिइन्।