काठमाडौं- गुल्मीको मदाने गाउँपालिका प्रमुखमा स्वास्थ्यकर्मी महेन्द्रबहादुर कुँवर विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत मदाने गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका स्वास्थ्यकर्मी कुँवरले ४ हजार ७ सय ७ मत ल्याई विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रेमबहादुर केसीलाई १० मतान्तरले पराजित गरेका हुन्। पराजित प्रेमबहादुर केसीले ४,६९७ मत ल्याएका छन्।
गाउँपालिका अध्यक्षमा निर्वाचित कुँवरले सरकारी स्वास्थ्य सेवामा २७ वर्ष काम गरेका थिए। स्वास्थ्य सहायक (एचए)बाट स्वास्थ्य सेवामा प्रवेश गरेका कुँवर अवकाश पाउने समयमा जनस्वास्थ्य अधिकृत थिए। उनले विभिन्न जिल्लामा रहेर काम गरेका थिए।