काठमाडौं– काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएकी छन्। कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले ८ हजार ९८८ मत ल्याई अग्रता लिएकी हुन्।
प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ८ हजार ९४८ मत प्राप्त गरेका छन्। थापाले पिसीएल नर्सिङ, स्नातक मानविकी, एलएलवी, राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी छिन्।
चुवानको क्रममा दीर्घरोगीहरूका लागि वार्षिक स्वास्थ्य शिविर, प्रेग्नेन्सी किटदेखि पोषण कार्यक्रम र सामुदायिक अस्पतालमा सुविधा थपेर नयाँ ढंग र फरक रुपमा लैजाने योजना थापाले अघि सारेकी थिइन्।
यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन्। तामाङले आठ हजार ४११ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले सात हजार ६६३ मत प्राप्त गरेकी छन्।
टोखाको हालसम्म आठवटा वडाको मतगणना सम्पन्न भइसकेको छ। तीमध्ये वडा नं १ मा नेपाली कांग्रेसका रमेशकुमार लामिछाने, वडा नं २ मा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ मा एमालेकै रमेश डङ्गोल, वडा नं ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ मा एमालेकै मदन गुरुङ अध्यक्षमा विजयी भएका छन्।
यस्तै, वडा नं ६ मा कांग्रेसका शान्ता खनाल, वडा नं ७ मा एमालेका नरोत्तम राना र वडा नं ८ मा एमालेकै रमेश खत्री अध्यक्षमा विजयी भएका छन्। अहिले वडा नं ९, १० र ११ को मतगणना भइरहेको छ।