काठमाडौं- कोशी अस्पताल सञ्चालक सदस्यबाट राजीनामा दिएर विराटनगरको उपमेयर उठेकी शिल्पा निराैला कार्कीले निरन्तर अग्रता लिइरहेकी छन्। उनले गठवन्धनका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलाई २ हजार ८ सय २ मतले पछि पार्दै अग्रता बढाइरहेकी छन्।
प्राप्त पछिल्लो विवरण अनुसार शिल्पाले ७ हजार ६४६ मत प्राप्त परेकी छन् भने उनका प्रतिस्पर्धी यादवले ४ हजार ८४४ मत प्राप्त गरेका छन्। शिल्पा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी हुन्।
मेयरमा भने नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ९,००० मतका साथ अग्रस्थानमा छन्। कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सागरकुमार थापाले ६,६६७ मत ल्याएका छन्।
शिल्पाको उम्मेदवारी दर्ता भएपछि उनले कोशी अस्पताल सञ्चालक सदस्यबाट राजीनामा नदिएको भन्दै निर्वाचन अधिकृत समक्ष प्रतिस्पर्धी अमरेन्द्र यादवले उजुरी गरेका थिए। विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले यो मुद्दा निर्वाचन आयोगमा पठाइदिएका थिए।
त्यति बेलासम्म शिल्पाले पुरानो मिति उल्लेख गरेर राजीनामा स्वास्थ्य मन्त्रालय पठाइसकेकी थिइन्। त्यही आधारमा आयोगले उनको उम्मेदवारी सदर गर्यो।
अमरेन्द्र फेरि अदालत गए। तर सर्वोच्च अदालतले चैत २८ मा अन्तरिम आदेश दिन अस्वीकार गेको थियो।