काठमाडौं- धादिङको निलकण्ठ नगरपालिकाको एउटा वडाको अध्यक्षमा दुई प्रत्यासीको बराबर मत आएपछि गोलाप्रथाद्वारा विजयी उम्मेदवार घोषणा गरिएको छ।
वडा नम्बर ६ को मतगणनामा कांग्रेसका भूपेन्द्रकुमार श्रेष्ठ र माओवादी केन्द्रका लक्ष्मण रम्तेलको मत बराबर आएको हो। त्यसपछि गोलप्रथा गर्दा कांग्रेसका श्रेष्ठ विजयी भएका हुन्।
मौन अवधिकामा समयमा झडप हुँदा वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ घाइते भएका थिए। उनको टाउको र मुखमा गम्भीर चोट लागेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनी अहिले पनि काठमाडौंमा उपचार गराइरहेका छन्।
निलकण्ठमा सत्तागठबन्धनका दलबीच तालमेल थियो। जसमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार उठेका थिए।
मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ र नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेल दुवैजनाको बराबर ७ सय ५८ मत आएको थियो। वडा अध्यक्षमा बराबर भएपनि ४ वटा वडा सदस्यहरूमा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।
गत वैशाख २८ गते राती नेपाली कांग्रेसका उम्मेदवारहरूलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलसहित अन्य ४ जना माओवादी कार्यकर्ता जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।