काठमाडौं- सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचति अध्यक्ष असिम राईले आफूले राज्यबाट प्राप्त गर्ने सबै सेवा सुविधा जेहेन्दार विद्यार्थीको लागि खर्च गर्ने घोषणा गरेका छन्।
उनले उक्त सुविधाबाट गाउँपालिकाभित्रका एक जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका हुन्। शुक्रबार दोस्रोपटक गाउँपालिका अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै अध्यक्ष राईले यस्तो घोषणा गरेका हुन्।
'दोस्रो कार्यकालको शुभारम्भ गरे सङ्गै हामीले अध्यक्ष स्तरीय केही महत्वपुर्ण निर्णय गरेका छौं। गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुबिधा गाउँपालिका भित्रका गरिब तथा जेहेनदार एक जना विद्यार्थीलाई एमबीबीएस पढाउन खर्च गर्ने।' अध्यक्ष राईले पदभार ग्रहणपछि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष राई २०७४ सालको पहिलो स्थानीय तह सदस्यको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार बनेर यही गाउँपालिका अध्यक्षको रूपमा निर्वाचित भएका थिए। उनी पुन यही गाउँपालिका अध्यक्षमा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित बनेका हुन्।