काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा समायोजन भई गएका स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै स्थानीय तहहरुमा समायोजन भई गएका स्वास्थ्य सेवाका कर्मचारीहरुको स्थानीय ग्रेड कार्यान्वयन तथा स्तरवृद्धि पश्चात पनि उक्त स्थानीय ग्रेड रकम भुक्तानी नभएको गुनासो आएको भन्दै सबै महानगरपालिका,उप महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पत्र लेख्दै ग्रेडवृद्धि कार्यान्वयन गर्न भनेको छ।
स्थानीय तहमा समायोजन भई गएका स्वास्थ्य सेवाका कर्मचारीहरुको ग्रेड कतिपय स्थानीय तहले हाल सम्म भुक्तानी नदिएको गुनासो आएको भन्दे मन्त्रालयले स्थानीय ग्रेड खुवाएका पालिकहरुमा स्तरवृद्धि भए पश्चात कर्मचारीहरुको ग्रेड काटेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
'स्वास्थ्य सेवाका कर्मचारीहरुलाई थप २ ग्रेड दिनु पर्ने व्यवस्था कार्यान्वयन नगरेको भए ऐनको व्यवस्था अनुरुप २ ग्रेड थप गरि उपलब्ध गराउने साथै त्यस्तो ग्रेड समायोजन भई गएका तहमा बहाल रहेसम्म पाउने स्तरवृद्धि भए पश्चात जुन तहमा स्तरवृद्धि भएको हो सो तहको सुरु स्केल मात्र पाउने तर त्यस्तो सुरु स्केल खाइपाइ आएको रकम भन्दा कम भएमा प्रचलित कानून बमोजिम उपलब्ध गराउनु' मन्त्रालयले पत्रमा भनेको छ।