काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउण्डेसनको २६औं वार्षिक सम्मेलन शनिबार हुँदैछ। कोभिड भाइरस महामारीका कारण फाउन्डेसनले भर्चुअल रुपमा सम्मेलन गर्न लागेको छ। गत वर्ष पनि फाउन्डेसनले भर्चुअल सम्मेलन गरेको थियो।
यो वर्ष सम्मेलनको विषय 'सबैको साथमा स्वस्थ नेपालको परिकल्पना' अर्थात इनभिजनिङ हेल्दियर नेपाल टुगेदर रहेको छ।
सम्मेलनबाट फाउन्डेसनमा नयाँ नेतृत्व समेत चयन हुने छ। हाल फाउन्डेसनमा डा भुपेश खड्का अध्यक्ष छन्।
सम्मेलनमा विभिन्न विषयमा तयार पारिएका प्रस्तुतीकरणहरु प्रस्तुत गरिनेछ।
फाउन्डेसनले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिन थालेलगत्तै फाउन्डेसनले नेपालमा मेडिकल सामग्री, अक्सिजन प्लान्ट लगायतका क्षेत्रमा ठूलो सहयोग गर्दै आइरहेको छ।
सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ।