काठमाडौं- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्षको १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन्। यस्तै ५ हजार २ सय ६ जनाले अन्तरंग सेवा लिएका छन्। प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै आम नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन सफल भएको बताएको छ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सबै खालका स्वास्थ्य सेवाको स्तर बढाउदै लगेको जानकारी गराईएको छ। वैशाख १ गतेबाट २४ सै घण्टा निशुल्क प्रसूति सेवा, मेसिन थप गरि डाईलाईसिस सेवा, सिकलसेल एनिमियाको सेवा, सामाजिक सुरक्षा सेवालगायत थुप्रै विशेषज्ञ सेवा विस्तार भएको प्रतिष्ठानका रजिस्ट्रार डा प्रकाश थापाले जानकारी दिए।
यस्तै आगामी दिनमा मेडिकल स्वास्थ्यलाई अझ विशिष्टिकृत गर्दै लैजान सिंगो अस्पताल प्रशासन, मेडिकल टोलीले विशेषज्ञसहितको सहज स्वास्थ्य सेवा प्रदान गर्न अघि बढेको उनले बताए। कार्यक्रममा प्रसूति रोग विशेषज्ञ वसन्त लामिछाने, अस्पताल निर्देशक डा प्रज्ञा बस्नेतलगायतले बिरामीमैत्री सेवा प्रवाहका लागि आफूहरु लागि परेको बताए।