काठमाडौं - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार र आइतबार आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गर्ने भएको छ।
प्रतिष्ठानले एक सूचना जारी गरी शनिबार र आइतबार आकस्मिक बाहेक अन्य सबै सेवा बन्द हुने जनाएको हो।
आइतबार समेत सेवा सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागू गर्ने तयारी भएको सूचनामा उल्लेख छ। अन्य दिनहरुमा भने बिहान ९ देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ।
सूचनामा भनिएको छ, ‘सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे बमोजिम यस पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार र आइतबार आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’
यसअघि वीर, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतले भने आइतबार बिदा नदिने निर्णय गरेका थिए।