अछाम- अछाम सदरमुकाम रहेको मंगलसेन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पदम बहादुर बोहराले पदभार ग्रहण गरेका छन्। नगर कार्यपालिकाको कार्यालय मंगलसैनमा उनले एक कार्यक्रमका बिच पदभार ग्रहण गरे।
पदभार ग्रहण गर्दै नगर प्रमुख बोहराले जनताको चाहना अनुसार काम गर्दै अघि बढ्ने बताएका छन्। नवनिर्वाचित नगर प्रमुख बोहराले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पहिलो निर्णयहरु समेत सार्वजनिक गरेका छन्।
टोलटोलमा निशुल्क स्वास्थ्य बीमा, गर्ववती र सुत्केरीका लागि नगरका दुर्गम २ ठाउँमा हेलिप्याड, नगरस्तरिय शवबहानको व्यवस्था, कृषकलाई आत्मनिर्भर बनाउन कृषी तथा पशु बिमामा ७५ प्रतिशत छुट र जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि बाल संरक्षण कोषको स्थापना गर्ने निर्णय उनले गरेका छन्।
उनले नगरको आर्थिक र सामाजिक क्षेत्रको उत्थान र प्रर्बद्धनको लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी टोलबस्तीका सबै नगरबासीसम्म पहुँच विस्तार गर्ने निर्णय गरेका छन्। स्वास्थ्यमा कमजोर अवस्थाको पहिचान भएका मुटु रोगी, क्यान्सर पिडित, मिर्गाैला रोगी लगायत गम्भिर प्रकृतिका दिर्घ रोगीको सरकारले गर्ने बाहेकका सो बिरामीको नगरबाट निशुल्क स्वास्थ्य बिमा गर्ने नगर प्रमुख बोहराले बताए।
नगर प्रमुख बोहराले जोखिम अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुबिधा सम्पन्न अस्पतालमा लैजान जिल्ला अस्पतालबाट टाढा रहेका र यातायातको समेत पुहँच नभएका नगरको वडा नंं. १३ बस्ती र १२ को छापडाँडामा हेलीप्याड निर्माण गर्ने निर्णय समेत गरेका छन्।