काठमाडौं- विभिन्न संगठनहरूले कोभिड–१९ को खतरा विरुद्ध लड्न र मानिसहरूलाई खोप लिन प्रेरीत गर्न मजबूत जोखिम सञ्चार र सामुदायिक सहभागिता प्रणालीको आह्वान गरेका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्र र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूको संजाल सँगको समन्वयमा सेभ द चिल्ड्रेनले राष्ट्रिय स्तरको कोभिड–१९ तथा खोप अपटेक रिस्क कम्युनिकेशन एण्ड कम्युनिटी इन्गेजमेन्ट कार्यशाला को आयोजनामा सहभागीहरुले यस्तो आह्वान गरेका हुन्।
कार्यशालामा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील राज शर्माले भने, 'कोभिड–१९ को खतरा अझै छ, र हामी संगठनहरूलाई सरकारसँगको सहकार्यमा काम गर्न र खोप ग्रहण बढाउन प्रमाणद्वारा निर्देशित अधिक समुदाय केन्द्रित जोखिम संचार र सामुदायिक सहभागिता सम्बन्धी कार्यहरू डिजाइन गर्न आह्वान गर्छौं।'
कार्यक्रममा सहभागीहरूले मिडिया, सामुदायिक सहभागिता र आउटरीच, प्रमाण निर्माण र सामाजिक मान्यता, अनुसन्धान,कोभिड–१९ मा प्रयोग भएका सर्वोत्तम अभ्यासहरू र जोखिम संचार र सामुदायिक सहभागिता सम्बन्धी कार्यहरू डिजाइन गर्न आवश्यक सामाजिक मूल्य मान्यता सम्बन्धी अनुसन्धान बारे छलफल गरेका थिए। कोभिड–१९ सम्बन्धी गरिएका कार्यक्रमहरूमा चुनौती, अन्तर र अवसरहरूबारे छलफल गर्न अभ्यास समुदायको आवश्यकता छ भन्ने कुरामा सहभागीहरू सहमत भएका छन्।
यसले कोभिड–१९ सम्बन्धी अति महत्वपूर्ण (जीवन बचाउने) सन्देश र खोप सम्बन्धीका सन्देशहरूमा भएका दोहोरोपना हटाउन र प्रभावकारी ढंगले सञ्चार गर्न सहयोग उनीहरुको भनाई छ।
सेभ द चिल्ड्रेनकी कार्यकारी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले कोभिड–१९ र यसको खोप सम्बन्धी जनचेतना फैलाउने कार्यमा सरकार र विकास साझेदार संस्थाले हासिल गरेका उपलब्धिको प्रशंसा गरिन्।
उनले भनिन्, 'मैले कोभिड–१९ को खोपले मानिसहरूमा आशा जगाएको देखेकी छु र कसरी खोपले विषेश गरी बालबालिकाको जीवन रक्षा गर्छ भन्ने पनि देखेकी छु । त्यसैले, भविष्य प्रतिको आशा र विश्वास कायम राख्न हामी सबैले मिलेर कार्य गर्नु आवश्यक छ।' उनले सरकार र संघ संस्था सबै मिलेर प्रत्येक व्यक्तिलाई खोपको दायरामा ल्याएर कोभिड–१९ विरुद्धको लडाईँ साझा रुपमा लड्नु पर्ने कुरामा जोड दिइन्।