काठमाडौं- काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्राडा भगवान कोइराला बाल अस्पताल निर्माणमा पहलका लागि अमेरिकाको भ्रमणमा रहेका छन्।
डा. कोइराला अमेरिकाको विभिन्न शहरहरुमा रहेका नेपालीहरू तथा विभिन्न संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको लागि त्यहाँ गएका हुन्। भ्रमणको समन्वय तथा व्यवस्थापन ‘किओच पार्टनर्स इन अमेरिकाले गरेको छ।
किओच पार्टनर्स इन अमेरिका नेपालमा बाल अस्पताल सन्जाल निर्माण तथा संचालन गर्ने किओचको अभियानमा सहायता गर्न खोलिएको करछुट प्राप्त संस्था हो। हाल डा कोइरालाले सान फ्रान्सिस्को, पोर्टल्याण्ड र अस्टिनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी अन्य स्थानमा कार्यक्रम गर्दै छन्।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित संस्थाका रूपमा दर्ता तथा समाज कल्याण परिषदमा आवद्ध गैरसरकारी सामाजिक संस्था हो।
काठमाडौँ उपत्यकामा विशिष्टीकृत सेवा सहितको बाल अस्पताल तथा देशका सातैवटा प्रदेशमा भौतिक संरचना सहितको बाल अस्पताल संचालन गर्ने र देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय सेवा पुर्याउने संस्थाको लक्ष्य रहेको छ। संस्थाको नेतृत्व प्राडा कोइरालाले नै गरेका छन्।
डा. कोइरालाले देशका सातवटै प्रदेशमा बाल रोग सम्बन्धी बहुविशेषतायुक्त अस्पताल खोल्नु पर्ने जरुरी भएको बताए। नेपालका बालबालिकाले गुणस्तरीय उपचार पाउन निकै कष्ट भोग्नुपरेको भन्दै डा कोइरालाले बाल अस्पताल त्यसको पहल गरिरहेको बताए।
डा कोइरालाले नेपालमा बाल स्वास्थ्यको क्षेत्रमा रोकथामको तहमा काम भएता पनि उपचारात्मक सेवातर्फ अझै काम गर्न यो अभियानको सुरुवात गरेको र दाताबाट प्राप्त रकमको सही सदुपयोग हुने जानकारी दिए।
डा कोइरालाले भने, 'जोखिमका कारकहरू पहिचान गर्न आनुवंशिक परीक्षण मार्फत प्रारम्भिक पहिचान र रोकथाम उपायहरूले हाम्रो बच्चालाई मद्दत गर्ने छ।'