काठमाडौं - एक्सपोज नेपाल नामक संस्थाले अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
एक्सपोज नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्यालयमा महिनावारी नाराका साथ कार्यक्रम तथा र्यालीको आयोजना गर्न लागिएको जनाएको छ। महिनावारी व्यवस्थापन सम्बन्धी जनचेतनाको आवश्यक अझै पनि भएकाले दिवसको अवसरमा कार्यक्रम गर्न लागिएको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिए।
उनले भने, पुनः प्रयोग गर्न मिल्ने प्याड जुन रसायन रहित, वातावरणमैत्री, कम खर्चिलो, स्वस्थकर तथा वातारणमैत्री प्याड र साइकलको सम्बन्ध जोडेर यसको माध्यमबाट धेरै पुरुषहरुलाई महिनावारी चेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका छौँ।
महिलाहरुले प्रयोग गर्ने घरेलु कपडालाई नै व्यवस्थित गरी स्वच्छ र पुनः प्रयोग गर्न मिल्ने गरी कपडाको प्याड यो संस्थाले बनाउने गरेको छ। हालसम्म काठमाडौं, ललितपुर, चितवन, सुर्खेत लगायत २३ जिल्लाका ४ हजार ९ जना जना महिलाहरुलाई चेतना अभिवृद्धिसहित आर्थिक उपार्जनका काम समेत गरिरहेको संस्थाले जनाएको छ।
२०६४ सालमा स्थापित यस संस्थाले महिला माथि हुने हिंसाविरुद्ध र महिनावारी व्यवस्थापन एवं स्वच्छताका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। महिनावारीका समयमा महिला माथि विभेद भइरहेकाले महिनावारी व्यवस्थापन र स्वच्छताका सम्बन्धमा कार्यक्रम गर्न थालिएको महर्जनले बताए।