काठमाडौं- स्वास्थ्य तथा जनसख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाको आयोजनामा मनाङ जिल्लाका सबै पालिका र स्वास्थ्यसंस्थाहरु, अस्पताल तथा स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण संचालन गरिएको छ।
उनीहरुको ज्ञान र सिप अभिवृद्धि गरी हरेक स्वास्थ्यसंस्थाबाट विशेषज्ञ सेवाको आधारभुत सेवा प्रवाह गर्नका लागि जिल्लाका ३० जना स्वास्थ्यकर्मीलाई २ दिने अभिमुखीकरण जिल्ला सदरमुकाम चामेमा संचालन गरिएको हो। वीर अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा उपचारात्मक सेवा महाशाखाका शाखा पुर्व प्रमुख डा प्रकाश बुढाथोकी प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको हो।
प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक डा बुढाथोकीले प्याकेज कार्यक्रमको विकासक्रम, तालिम तथा अभिमुखीकरण कार्यक्रमका उदेश्यका बारेमा उल्लेख गरेका थिए। अब गुणस्तरीय स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा यी सेवा समाहित गरिसकिएकोले स्वास्थ्य संस्थाहरुले सेवा एकरुपताका दिनुपर्ने उनले बताए।
अध्यक्ष तथा महाशाखाका शाखा प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा सर्बेस शर्माले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दे शाखा स्थापना भएको र सवै मिलेर विकास र विस्तार गर्नुपर्नेमा जोड दिए। उदघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्य, निमित्त स्वास्थ्य कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ र मनाङ अस्पतालका प्रतिनीधिले मन्त्ब्य राखेका थिए।
अभिमुखीकरण तालिममा मुख स्वास्थ्यतर्फ प्रमुख कन्सल्टेन्ट डेण्टल सर्जन डा प्रकाश बुढाथोकी, आँखा स्वास्थ्य तर्फ केएमसीका आँखारोग विशेषज्ञ प्राडा सबिना श्रेष्ठ र नाक कान घाँटी तर्फ डा सर्बेस शर्माले सहजीकरण गरेका थिए। चामे,नासोन,नार्पाभुमी र मनाङ ङिस्याङ गरी कुल ४ गाऊँपालिका र २७ वडा रहेको मनाङ जिल्लामा १ जिल्ला अस्पताल,४ आधारभुत अस्पताल र २७ स्वास्थ्यचौकी वा आधारभुत स्वास्थ्य सेवा केन्द गरी कुल ३२ स्वास्थ्यसंस्था हुनपर्ने भएपनि हालसम्म ३ वटा वडामा स्वास्थ्यचौकी,४ वटा पालिकामा आधारभुत अस्पताल नै नभएकोले २४ वटा स्वास्थ्य संस्थाहरु रहेका छन। कार्यक्रममा सवै स्वास्थ्यसंस्था र पालिकाबाट गरी ३० जनाको सहभागीता थियो।