काठमाडौं- इन्टर्नसिपमा आएकी एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी कारबाहीमा परेका छन्।
परिषदले तालिम अधिकृत विजयकुमार झालाई निलम्बनसहितको कारबाहीको निर्णय गरेको हो। झाले परिषदमा इन्टर्नसिपमा आएकी एक युवतीलाई शनिबार कार्यालयमा बोलाएर दुर्व्यवहार गरेका थिए।
तालिम अधिकृत झाले दुर्व्यवहार गरेपछि ती युवतीले आफन्तको सहयोगमा कारबाहीको माग गरेकी छिन्। उनको निवेदनपछि परिषदले कारबाही प्रक्रिया अगाडि बढाएको हो। स्रोतका अनुसार कर्मचारी प्रशासन विनियमावली अनुसार झामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
परिषदले उक्त विषयमा थप अनुसन्धान पनि अगाडि बढाएको छ।
परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीले उक्त विषयमा परिषद गम्भीर रहेको र आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
'पीडितले न्याय पाउनुपर्छ' उनले भने, 'हामी यो विषयमा गम्भीर छौं। कारबाहीको प्रक्रिया अगाडि बढाएका छौं।'
झाले यसअघि पनि २०७६ सालमा महिला सहकार्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि कारबाहीमा परेका थिए। उनी त्यतिबेला दुई महिना निलम्बनमा परेका थिए।