सिन्धुपाल्चोक- लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटनामा सुनकोसी ७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो। एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रासस