काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यंगात्मक शैलीमा प्रश्न गरेका छन्।
देउवा पत्नी आरजु राणाले कांग्रेसले नजितेको पालिकामा सरकारले बजेट नदिने अभिव्यक्तिको प्रसंग कोट्याउँदै ओलीले बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा डडेल्धुराको अमरगढी रुखले जितेको छ कि छैन? भनेर सोधे।
ओलीले रोष्टमबाट देउवालाई लक्षित गर्दै सोधे, ‘रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन भनेर धम्काइएको छ। डडेल्धुरामा मेडिकल कलेज जाने भएछ। कुन पालिकामा कांग्रेसले जितेको छ। त्यसमा जाने होला। अमरगढी जितेको छ कि छैन? ’
लगत्तै देउवाले हाँस्दै जितेको छ भने।
त्यसलगत्तै ओलीले थपे, ‘अमरगढी कांग्रेसले जितेको भए त ठिकै छ। कुन कुनामा लागेर राख्नुपर्ने हो मेडिकल कलेज। कांग्रेसले जित्या छैन भने प्रधानमन्त्रीज्यूको वडामा केही जाने भएन। त्यहाँ रुखले जितेन की क्या हो।’
ओलीले यो भन्दा लोकतन्त्रको बिजोक अरु केही नहुने समेत बताए। उनले सरकारलाई छिमेकी सन्बन्धका संवेदनशीलता बुझ्छ कि बुझ्दैन भन्ने प्रश्न गरेका छन्।