भजनी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहराले शिक्षा र स्वस्थ्य क्षेत्र सबल भए मात्रै राष्ट्रको विकास हुने बताएका छन्। उनले आज कैलालीको टीकापुर अस्पतालको अनुगमनका क्रममा अबको बजेट शिक्षा र स्वस्थ्यमा केन्द्रित हुनुपर्ने बताउँदै त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले केही परिमार्जन गर्नेगरी छलफल सुरु गरेको बताए।
'शिक्षा र स्वस्थ्यमा एक दिन मात्रै ढिलो भयो भने त्यसबाट ठूलो क्षति हुनसक्छ, त्यसैले पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछौँ', मन्त्री बोहराले भने।
उनले धनगढीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र टीकापुर अस्पताललाई विशेष प्राथमिकतामा राखेको बताउँदै आवश्यक बजेटको व्यवस्थापन गरिने बताए।
मन्त्री बोहराले प्रदेशका अधिकांश अस्पतालमा भएका स्वस्थ्य उपकरणलाई प्रयोगमा ल्याउने जनशक्ति नभएकाले प्रदेश सरकारले तत्काल यसबारे ध्यान दिने बताए।उनले भने, 'यहाँको स्वास्थ्य क्षेत्रमा जनशक्तिको निकै अभाव छ, अब जनशक्ति उत्पादनमा प्रदेश सरकारले ध्यान दिन्छ।'