नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९ वैशाख १४ गते विभिन्न प्रतिवेदनको सिफारिस अनुसार २०७९ जेष्ठ १ गतेदेखि लागु हुने भन्दै हप्ताको २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सोहि मुताविक कार्यान्वयन भैरहेको छ। सरकारको निर्णयसँगै साविकको कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म रहेकोमा बिहान ३० मिनेट अघि कार्यालय खुल्ने र बेलुका ३० मिनेट पछि सम्म कार्यालय संचालन हुने गरेका छन्। अर्थात कार्यालय समय विहान ९ः३० देखि बेलुका ५ः३० सम्म संचालन हुने गरेको छ। शुक्रवार पहिले जस्तो आधा छुट्टी छैन। हप्तामा कर्मचारीले काम गर्ने समय विगतमा ४० घण्टा रहेकोमा हाल पनि ४० घण्टा नै रहेको छ।
शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको प्रयोग, विद्युत प्रयोगमा र प्रशासनिक खर्चमा कटौति हुने, कर्मचारीको काम गर्ने क्षमतामा वृद्धि हुने, पर्यटन प्रवद्र्धनमा वृद्धि हुने एक पक्षको तर्क रहेको छ भने अर्को पक्ष कर्मचारीलाई घरमै राखेमा काममा ढिला सुस्ती हुन्छ भन्ने तर्क छ। कर्मचारीलाई दलाएर काम गराएमा मात्र उत्कृष्ट नतिजा निस्कन्छ भनेर मानव संसाधनलाई मेसिनको रुपमा हेर्ने गरेका छन्। लगातार दुई दिन बिदा हुँदा काममा ढिला सुस्ती हुने र सर्वसाधारणले दुख पाउने मात्र नभएर कार्यालय समय ९ः३० कायम भएता पनि कार्यालय पुग्ने समय १०ः०० बजे नै हुने भएकाले यो निर्णयको तुक नभएको तर्क गर्दछन्। हुन त बिसं २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सुरु नगरिएको भने होइन।
त्यसको कार्यान्वायन प्रभावकारी बन्न नसक्दा हप्तामा दुई दिन बिदा दिने निर्णय सच्चिएको हो। सार्वजनिक प्रशासन कसरी सुधार कसरी गर्ने, अन्तराष्ट्रिय अभ्यास कस्तो रहेको छ? कस्तो कार्यान्वायन गर्दा सार्वजनिक व्यवस्थापन जनमैत्री बनाउन सकिएला? कर्मचारीको मनोबल बढाउँदै नयाँ सार्वजनिक व्यवस्थापन कसरी गर्न सकिन्छ? सार्वजनिक बिदा को सेरोफेरोमा रहेर यस लेख तयार पार्ने कोसिस गरिएको छ। समयको अन्तरालसँगै सार्वजनिक प्रशासनमा विभिन्न सिद्धान्त प्रतिपादन हुँदै आएको पाइन्छ। यसै सन्दर्भमा अमेरिकामा सन् १९२० अन्त्यदेखि १९३० सुरुवात तिर अमेरिकन उद्योग र कलकारखाना तिर नयाँ प्रयोग भएको पाइन्छ। पहिलो प्रयोग अन्तरगत कामदारलाई टेलिफोनको स्विच बनाउनुपर्ने थियो र जति काम सम्पन्न गर्न सक्यो त्यहि अनसुार ज्याला दिनुपथ्र्यो तर कामदारले कसैले धेरै कसैले कम उत्पादन गरेमा कम उत्पादन गर्नेको रोजी रोटी खुस्किन सक्छ अनि बढी उत्पादन गरेमा ज्यालादर घट्न सक्छ। यही विषयलाई विचार गरी समान दरमा उत्पादन गर्ने निर्णय लिए।
विगतमा आइसोलेसन सेन्टरमा दैनिक १२ घण्टाका दरले ७ दिनसम्म ८४ घण्टा कर्मचारीलाई काममा लगाएपछि १ हप्ता कतिपय स्थानीय तहले बिदा दिएको पाइन्छ। दुई हप्तामा कानुन बमोजिम ८० घण्टा काम गर्नुपर्नेमा ८४ घण्टा काम गरेता पनि ज्यान जोखिममा राखेर एक हप्ता आराम गर्न पाउने उदेश्यले खुसीका साथ काम गरेको पाइन्छ। जसको फलस्वरुप कोभिड नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। यसबाट बुझ्न सकिन्छ कि कर्मचारीले बढी आराम पाए भने उत्कृष्ट कार्यसम्पादन गर्दछन्।
कर्मचारी हप्ताभरी गोरु झैँ जोतिँदा मात्रै कामको प्रतिफल राम्रो आउने हैन, थोरै काम गरेर पनि राम्रो उत्पादकत्व बढाउने विभिन्न प्रतिवेदनले देखाएका छन्। न्युजिल्याण्डको पर्पेचुयल गार्डियन कम्पनीमा परीक्षण स्वरुप २०० कर्मचारीलाई तलब र अरु सुबिधामा परिवर्तन नहुने गरी हप्तामा थप १ दिन बिदा दिइएको थियो। ती कर्मचारी कम घण्टा काम गरेर पनि बढी उत्पादनशील र खुसी देखिए। १८ जुलाई २०१८,द गार्डियन माइक्रोसफ्ट जापानले हप्तामा ४ दिन काम गर्ने अभ्यास पीिक्षणको रुपमा राख्दा करिब ४० प्रतिशत उत्पादकत्व वृद्धि भएको थियो। (सीएनबिसी २ मार्च २०२२) काम गर्ने भनेर दिनभर कार्यालयमा ब्यतित हुनुको सट्टामा कार्यालयले अलिकति लचकता अपनाउँदा मात्रै कर्मचारीमा उत्प्रेरणा वृद्धि भई काममा छिटो छरितो देखिएको छ।
तत्कालीन संस्कृति ,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको अध्यक्ष्यतामा बसेको मिति २०७७ असोज ८ गते व्यवस्थापन समितिको सार्वजनिक बिदा सम्बन्धी अध्ययन गर्न समिति गठन भएको थियो। कोभिड महामारीले थलिएको पर्यटन व्यवसाय उकास्न हप्तामा २ दिन बिदा दिँदा पर्ने प्रभाव बारेमा उक्त समितिले अध्ययन गरेको थियो। समितिले १२७ देशको सार्वजनिक बिदाको बारेमा अध्ययन गर्दा ११६ देशमा हप्तामा ५ दिन कार्यालय संचालन हुने र ११ देशमा मात्र ६ दिन कार्यालय संचालन हुने गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै एसियाका ४३ देशको अध्ययन गर्दा ३८ देशमा हप्तामा ५ दिन कार्यालय संचालन हुने र ५ देशमा मात्र ६ दिन कार्यालय संचालन हुने गरेको र सार्क मूलुकमा नेपालमा मात्र ६ दिन संचालन हुने गरेको र अन्य मूलुकमा ५ दिन संचालन हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
सार्वजनिक बिदा हप्तामा दुई दिन दिदा पर्यटन प्रवद्र्धन हुने कार्यालयको कार्यबोझबाट मुक्त हुने मात्र नभै सार्वजनिक प्रशासन थुप्रै सकारात्मक प्रभाव पार्ने विभिन्न प्रतिवेदनले औँल्याएको छ। यसले शिक्षा ,स्वास्थ्य , पर्यटन, प्रशासन लगायतमा सकारात्मक प्रभाव पार्ने देखिएको छ। विद्यालयमा एक घण्टा शिक्षण अवधि बढाउँदा मानौँ पहिले ५० मिनेटको एक पिरियड हुनेमा अब ६० मिनेट हुने देखिन्छ। ६ दिनमा सकिने कोर्ष ५ दिनमै सकिन्छ।
शुक्रबार आधा छुट्टीको कारण पढाई नहुने विषय पनि हुन पाउने भयो। यस्तै २ दिन बिदा हुँदा ५ दिन पढेको पाठको अभ्यास गर्ने समयको सदुपयोग हुने देखियो। प्रशासनिक कार्य बिहान १० बजे सुरु गर्दा ५ बजे थोरै नसकिने समस्या कार्यालय समय १ घण्टा बढाउँदा तुरुन्तै सकिने भएकाले सेवाग्राहीको समय र पैसाको बचत हुने देखिन्छ। अझ शुक्रबार त कार्यालय आधा संचालन हुँदा समयको बर्वादीको समस्या सदाका निम्ति अन्त्य हुने देखिन्छ। नेपालको रकम पेट्रोलियम पदार्थ आयातमा विदेशिने र एक दिन सवारी साधन नचल्दा विभिन्न प्रतिवेदन अनुसार २० प्रतिशत खपत कम हुने भएकाले नेपाली मुद्रा विदेशिनबाट जोगिन्छ। दुई सिफ्टमा र सार्वजनिक बिदा मा संचालन हुने कार्यालय बाहेकमा विजुली र यातायात खर्च जोगिन्छ। सबैभन्दा महत्वपूर्ण त कर्मचारी फुर्सदिला बन्छन्। हालको मूख्य समस्या भनेको परिवारलाई समय दिन नसक्दा पारिवारिक सम्बन्ध टाढिँदै गएका छन। मानसिक रोगका बिरामी बढिरहेको अवस्थामा पारिवारिक घुलमिलमा जिन्दगी विताउन सक्दछन। घरबाट केही टाढा रोजगारी भएकाहरु हप्तामा एक चोटी मात्र भएपनि घरजाने अवसर मिल्छ। कोभिडको कारण थलिएको अर्थतन्त्र आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै उकासिन मद्धत गर्छ।
हप्तामा दुई दिन बिदा दिँदा उच्चतहका कर्मचारी नीति निर्माणमा चिन्तनशिल बन्न समय मिल्ने, मध्यमस्तरका कर्मचारी घुमफिर, आराम , पारिवारिक मिलनमा समय ब्यतित गर्न पाउनुको साथै न्युन स्तरका र कम तलब भत्ता पाउनेले निजीक्षेत्रमा दुई दिन पार्टटाइम जागिर गरी आयस्तर उकास्न मदत गर्दछ। एकदिन सरसफाईमा दिन ब्यतित हुनेमा अर्को दिन अध्ययन, घुमफिरलगायत मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन पाउँदा तनाव कम गर्न मदत पुग्छ। यतिमात्र कहाँ हो र आन्तरिक पर्यटन प्रवद्र्धन हुने, परिवारसँग घुलमिल हुँदै पारिवारिक सम्बन्ध प्रगाढ हुने, बालवालिकासँग हप्तामा दुई दिन समय बिताउँदा असल संस्कार वृद्धि भएर खुसी सुचांकसमेत वृद्धि हुने देखिन्छ। तर यसको सही प्रयोग नगरी जाँड रक्सी र जुवातासमा ब्यतित भएमा भने यसले क्षति गर्न सक्छ।
नेपालमा सार्वजनिक बिदा दुई दिन दिनको लागि वर्षको भन्दा लामो अध्ययन गरेको पाइन्छ। सस्तो लोकप्रियताको निम्ति यो कार्यान्वयन भएको २ हप्तामै यसको विषयमा विवाद निम्त्याउने गरिएको छ। हप्ताको दुई दिन सार्वजनिक बिदा दिँदा सार्वजनिक प्रशासन ध्वस्त हुने, कर्मचारीलाई बढी सुविधा भएर सेवाग्राहीले दुख पाउने कूतर्क गरेको पाइन्छ। दुई दिन सार्वजनिक बिदा दिँदा सम्पन्न मूलुकको न त अर्थतन्त्र ध्वस्त भएको छ न त सेवाग्राहीलाई मर्का परेको छ। झन् कार्यसम्पादन उत्कृष्ठ बनेको छ। जस्तै अमेरिका,बेलायत।
सार्क मूलुकमा नेपालमा मात्र जेष्ठ १ अघि हप्तामा १ दिनमात्र बिदा हुँदा किन आर्थिक वृद्धि र विकास गर्ने पहिलो मूलुक बन्न सकेन त? अहिले कर्मचारीको कार्यघण्टा नघटाई सार्वजनिक बिदा दिँदा कर्मचारीको उत्पादकत्व र क्रयशक्ति बढ्ने देखिन्छ।
सार्वजनिक सेवा प्रवाह गर्दा प्रभावकारी रुपले संचालन गर्न नसके दुई दिन सार्वजनिक बिदा दिए पनि विगतकै नियती भोग्नुपर्ने देखिन्छ। सेवा प्रवाह गर्दा जनइच्छा बुझ, ग्राहक हैन नागरिकको सेवा प्रवाह गर, रणनीतिक ढंगले सोच अनि प्रजातान्त्रिक ढंगले अघि बढ, संचालकमा मात्र भर नपरी सेवा प्रवाह गर, उत्पादकत्वमा मात्र हैन मानिसको महत्व बुझ भन्ने नयाँ सार्वजनिक सेवा अनुसार सेवा प्रवाह गरिनु पर्दछ। यसरी सेवा प्रवाह गर्दै सरकारको दुई दिनको बिदा को असल कार्यान्वायन गर्दै यसले प्रभावपार्ने सकारात्मक प्रभावको लाभ लिनु जरुरी छ।