काठमाडौं- उपचारको क्रममा लापरबाही भएको ठहर गर्दै अदालतले अमेरिकामा एक नेपाली विद्यार्थीलाई ११ करोड १० लाख अमेरिकी डलर (१३ अर्ब ७६ करोड रूपैयाँ) बराबर क्षतिपूर्ति दिन आदेश गरेको छ।
अमेरिकाको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालले शल्यक्रियामा लापरबाही गरेको भन्दै अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई उक्त रकम बराबर क्षतिपूर्ति भराउन आदेश दिएको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) का अनुसार अदालतले गत साता तोकेको उक्त क्षतिपूर्ति राज्यको अहिलेसम्मकै सम्भवतस् ठूलो व्यक्तिगत क्षतिपूर्ति हुनसक्ने हो।
थापाले तीन वर्षअघि सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका थिए। सन् २०१७ मा फुटबल खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो। उपचारका लागि सेन्ट क्लाउडमा पुर्याइएका उनलाई जाँचको क्रममा खुट्टा भाँचिएको र तत्काल शल्यक्रिया गरिनुपर्ने भनिए पनि अनुज तत्काल शल्यक्रिया गराउने पक्षमा नरहेको बताइएको छ।
डा चाड होलियनको नेतृत्वमा उनको शल्यक्रिया गरिएकोमा भोलिपल्ट बिहान खुट्टामा झन् पीडा भएसँगै शरीरका अन्य भागमा पनि समस्या आएको र अस्पतालले आफ्नो कुरा नसुनेको अनुजले रिटमा उल्लेख गरेका थिए। पीडाको बाबजुद अस्पातलबाट डिस्चार्ज गरिएका थापाको अवस्थामा केही सुधार नआएपश्चात पुनस् अस्पताल भर्ना भएकोमा हड्डी र मांसपेशीमा पहिल्यैदेखि समस्या रहेको र सोही कारण शल्यक्रियापछि समस्या थप बढेको निष्कर्ष अस्पतालले निकालेको थियो।
समस्या बल्झिँदै जाँदा अनुजले अहिलेसम्म १२ वटा शल्यकृया गरेकोमा अस्पतालको लापरबाहीको कारण खुट्टा नै चलाउन नसक्ने अवस्थामा पुगेको समाचारमा जनाइएको छ।
करिब दुई वर्ष लामो सुनुवाइपछि मिनियसोटा अदालतले थापाको पक्षमा फैसला गरेको हो।