काठमाडौं- बयोधा अस्पतालको संस्थापक रवि चौधरीले बयोधा अस्पताल छाडेका छन्। उनले अस्पतालमा रहेको आफ्नो सेयर बिक्री गरेर नर्भिक अस्पताल फर्किएका छन्। एक दशकअघि नर्भिक छाडेर चौधरीले बयोधा अस्पताल सुरु गरेका थिए।
तर अहिले उनले बयोधामा रहेको सबै सेयर बिक्री गरेर पुन:नर्भिकमा फर्किएका छन्।
स्वास्थ्यखबरसँग कुराकानी गर्दै चौधरीले भने, 'केही जिम्मेवारी लिएर नर्भिकमा फर्किएको छु। अब त्यसलाई लक्ष्यलाई पुरा गर्न लाग्नेछु।'
उनले बयोधाको संस्थापक भएकाले संस्थाको माया लाग्ने बताए। 'संस्थापक भएका कारण माया त भइहाल्छ नि। तर मैले त्यहाँ सबै कुरा छाडेर नर्भिक आएको छु।'
उनका अनुसार नर्भिकले क्यान्सरको उपचारका लागि छुट्टै केन्द्र बनाउन लागेको छ। 'क्यान्सर उपचारका लागि नयाँ केन्द्र बनाउने तर्फ अहिले अलि बढी केन्द्रित हुनेछौं,' उनले भने, 'एक दशकपछि नर्भिक फर्किएको छु। यसको विकास र विस्तारमा निरन्तर लाग्नेछु।'