काठमाडौं- कोभ्याक्स मार्फत ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई लगाइने कोभिड विरुद्धको खोप नेपाल आउने भएको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत आपूर्ति व्यवस्थापन शाखाका अनुसार अमेरिकी सरकारले नेपालका पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लगाइने कोभिड विरुद्धको खोप निशुल्क उपलव्ध गराउने भएको छ।
८४ लाख डोज फाइजर खोप आवश्यक पर्ने र अमेरिकाले कोभ्याक्स सुविधा मार्फत बालबालिकालाई दिन मिल्ने ८४ लाख डोज फाइजर खोप (०.५ एमएल पेडियाट्रिक डोज) निशुल्क उपलव्ध गराउने आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए।
उनका अनुसार नेपालको भण्डारण क्षमता मिलाएर चरणवद्ध रुपमा पेडियाट्रिक डोज खोप प्राप्त हुने छ। चौरसियाले असार भित्रै बालबालिकाहरुलाई पहिलो डोज खोप लगाउन सुरु गर्ने सरकारको योजना रहेकोले छिटै नै पहिलो लट खोप आउने समेत जानकारी दिए।
‘फाइजर खोप माइनस ७० डिग्रीदेखि माथिको तापक्रममा भण्डारण गर्नु पर्ने बाध्यता छ। हामीसँग अहिले २० लाख डोज मात्रै भण्डारण गर्न सक्ने क्षमता छ। त्यसैले थोरै थोरै ल्याउने र लगाई हाल्ने नीति सरकारको छ,’ उनले भने।