काठमाडौं= सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पु¥याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए।
गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यसै आर्थिक वर्षमा ३०० श्ययाको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन्। प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो।
नेपाली कांग्रेसका नेत्री एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो।
उक्त कार्ययोजनाकै आधारमा तत्काल ३०० श्ययाको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो। “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि ३०० श्ययाको अस्पताल सञ्चालन हुने भएको हो”, डा जोशीले भने।
मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३०० श्ययाको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो।
उक्त समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल, पानीलगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो।