काठमाडौं- सरकारले चालु आर्थीक वर्षको ८ महिनामा कोभिड व्यवस्थापनको लागि मात्रै १५ अर्ब खर्च गरेको छ। चालु आर्थीक वर्षको फागुन सम्ममा १५ अर्ब ६२ करोड १२ लाख ६२ रुपैया खर्च भएको छ। सरकारको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।
अघिल्लो आवमा १० अर्ब ७३ करोड १७ लाख ७३ हजार खर्च भएकोमा यो आवको फागुनसम्म यस्तो खर्च १५ अर्ब ६८ करोड १२ लाख ६२ हजार भएको सर्वेक्षणमा उल्लेख छ।
२०७८ असारसम्म १२५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ८७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र २ हजार ९७१ आधारभूत स्वास्थ्य केन्द्र गरी ७ हजार ५६६ स्वास्थ्य संस्था रहेकोमा २०७८ फागुनसम्म यस्तो संख्या ७ हजार ५९८ पुगेको उल्लेख छ।
सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि सोचिएभन्दा कम आर्थिक वृद्धिदर हुनुलाई बेमौसमी वर्षा, कोभिडको ओमिक्रेन भेरिअन्टले ल्याएको लहर र बाह्य क्षेत्रमा परेको दबाबलाई कारण बताएको छ।
आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्ने अघिल्लो दिन शनिवार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा असार मसान्तसम्मको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान गरिएको जनाएका हुन्।
आर्थिक सर्वेक्षणले आधार मानेको अवधिसम्ममा आन्तरिक र बाह्य गरेर सरकारले तिर्नुपर्ने ऋण १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ रहेको छ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ। आर्थिक सर्वेक्षणका अनुसार फागुन मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको हो।
गत आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा जम्मा १० अर्ब १८ करोड रुपैयाँ लगानी भित्रिएको थियो। जुन, यो वर्षको फागुन मसान्तसम्मको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो।