काठमाडौं- सरकारले देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने बताए।
रुपेन्देहीको सैनामैना, नवलपरासीपूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ।
क्यान्सरको रोगको निदान गरी स्वदेशमा नै उपचार गर्नका लागि पेट स्क्यान मेसिन तथा साइकोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न रु ५० करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए।
पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने बजेटमा राखिएको छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अङ्ग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ उत्पादन गर्ने सक्षम प्रतिष्ठानको रूपमा विकास गरिने उल्लेख गरिएको छ।