काठमाडौं- सरकारले स्वास्थ्य शिक्षा उपलब्ध गराउने शिक्षण संस्थामा वर्षको दुईपटक विद्यार्थी भर्ना खुलाउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको बजेट वक्तव्यमा उक्त कुरा उल्लेख छ।
हाल नेपालका मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने संस्थाहरुमा बर्षको एकपटक विद्यार्थी भर्ना खुला हुँदै आएको छ। वर्षको दुई पटक भर्ना खुलाउने निर्णयसँगै मेडिकल कलेजहरुमा एक वर्षमा हाल भएका सिट क्षमताभन्दा दोब्बर सिट पुग्ने छ।
जनसंख्याको अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अपर्याप्तता भएको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिक्षामा प्रमाणपत्र तहदेखि विशिष्टकृत उच्च शिक्षासम्मको अध्ययनलाई सहज बनाउन भर्ना संख्या, भर्ना प्रक्रिया र संस्थागत व्यस्था सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध गर्ने विषय बजेटमा उल्लेख छ।
'स्वास्थ्य शिक्षा उपलब्ध गराउने शिक्षण संस्थाहरुले वर्षको दुईपटक विद्यार्थी भर्ना गर्ने गरी क्षमता विकास गरिनेछ', बजेट वक्तव्यमा भनिएको छ, 'यसबाट नेपाली विद्यार्थीहरुलाई मेडिकल शिक्षा अध्ययनका लागि विदेशिनु नपर्ने अवस्था सिर्जना हुनुका साथै विदेशी मुद्रा समेत बचत हुनेछ। मेडिकल शिक्षा अध्ययनमा विदेशी विद्यार्थीहरुलाई आकर्षित गर्न आवश्यक पूर्वाधारसहित काठमाडौं बाहिर विभिन्न स्थानमा मेडिकल कलेज स्थापना गर्न सहजीकरण गरिनेछ।'