पोखरा- गण्डकी प्रदेश सरकारले प्रादेशिक संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा कास्कीका कार्यकारी निर्देशक डा विकास गौचनलाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको छ। आईतबार १५ औँ गणतन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले उनलाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको हो।
यसअघि गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर डा गौचनलाई सो पुरुस्कार दिने घोषणा गरिएको थियो।
आईतबार आज एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले सम्मानपत्रसहित पुरस्कार प्रदान गरे।
कोभिड १९ को महामारीमा अग्रपंक्तीमा रहेर बिरामीको उपचार गर्नुका साथै प्रादेशिक संक्रामकतथा सरुवा रोग अस्पतालको व्यवस्थापनलाई समेत उत्कृष्ट बनाएको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ।
डा गौचनसहित स्वास्थ्य क्षेत्रका ५ जना गरी जम्मा ४६ जनालाई पुरुस्कार प्रदान गरिएको थियो। आयुर्वेद तर्फबाट एक अर्का चिकित्सकलाई पनि पुरस्कार प्रदान गरिएको छ।
यसअघि पनि डा. गौचनलाई सुदूरश्चिमको दुर्गम अछाम जिल्लाको बयालापाटा अस्पतालमा कार्यरत रहँदापनि सुदूरपश्चिमप्रदेश सरकारले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको थियो। डा. गौचनले अछाममा रहेर एक दशकभन्दा बढी सेवा दिएका थिए।
संक्रामक तथा सरुवा रोग अस्पताल समेत उत्कृष्ट
डा. विकास गौचन कार्यरत रहेको संस्था प्रादेशिक संक्रामकतथा सरुवा रोग अस्पताल समेत प्रदेश भरीमा उत्कृष्ट भएको छ।
प्रदेश मातहतका सरकारी कार्यालयहरुमा गण्डकी प्रदेशको पोखरा कास्कीमा रहेको संक्रामक तथा सरुवा रोग अस्पताल नुमना सरकारी कार्यालयको सम्मान प्राप्त गरेको छ।
गण्डकी प्रदेश स्थापनाको अवसरमा घोषणा गरिएको उक्त सम्मान समेत आईतबार गणतन्त्र दिवसको अवसरमा प्रदान गरिएको हो।
व्यावस्थापन र सेवाप्रदायकका रुपमा उत्कृष्ट सरकारी कार्यालय भएको भन्दै सो अस्पताललाई सम्मान प्रदान गरिएको हो। डा. गौचन सो अस्पतालमा कामगर्न थालेको एक वर्षमै प्रदेशमा उत्कृष्ट सरकारी कार्यालय बन्न सफल भएको हो। सम्मान ग्रहण गर्दै डा गौचनले थप जिम्मेवारी बोध गराएको बताए। अब आउने दिनमा समेत प्रभावकारी र गुणस्तरिय सेवाप्रदानगर्न तर्फ अझ बढी क्रियाशिल हुने बताए।