काठमाडौं- कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले पुनर्स्थापना केन्द्र स्थापनाका लागि ७० करोड माग गरेको छ। शारीरिक तथा मानिसक अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गर्न शाखाले १०÷१० करोडका हिसाबले ७० करोड माग गरेको हो। हालसम्म सरकारको आफ्नै पुर्नस्थापना केन्द्र छैन।
विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी हाल सरकारले पुनर्स्थापना सेवा दिइरहेको छ। पुर्नस्थापना केन्द्र स्थापना हुने विषय आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तत्वमा समेत उल्लेख छ। शाखा प्रमुख डा रविन्द्र बास्कोटाका अनुसार पुर्नस्थापना केन्द्र छुट्टै बनाउने नभइ प्रादेशिक अस्पतालमा युनिट स्थापना गर्ने हो।
उनले भने, ‘अहिले सञ्चालन भइरहेको पुर्नस्थापना केन्द्र सरकार आफ्नै होइन। हामी गैरसरकारी संस्थासँग भरपर्नु परेको छ। सरकार आफ्नै पुनर्स्थापना केन्द्र भएपनि हामीलाई पनि सेवा सञ्चालन गर्न सहज हुन्छ।’
बजेट विनियोजन भएपछि केन्द्र स्थापनाका लागि प्रादेशिक अस्पतालमा आवश्यक पर्ने जनशक्ति, उपकरण थपिने उनले बताए। आफूहरुले पहिलेदेखि केन्द्र स्थापनाका लागि लबिङ्ग गरेपनि हाल बजेटमा यो विषयले प्राथमिकता पाएको उनले बताए।