काठमाडौं-प्रतिनिधि सभा सदस्य दीपकप्रसाद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९ ०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि भए पनि गेटा मेडिकल कलेजलाई प्रतिष्ठान होइन राष्ट्रिय चिकित्सा शिक्षा विश्वविद्यालय बनाउनुपर्ने बताए।
‘देशमा चार दर्जन मेडिकल कलेज र सातवटा प्रतिष्ठान छन्,’ उनले भने, ‘अब सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउँ।’ धनगढीमा मेडिकल कलेज खोल्नुभन्दा गेटालाई विश्वविद्यालय बनाउनु उचित हुने उनको भनाइ छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटले मुलुकमा उत्पादन वृद्धि गर्ने बताए।उनले मुलुकमा मलको अभाव भएकाले किसानले मल पाउने अवस्था नरहेकाले सरकार त्यसतर्फ संवेदनशील बन्नुपर्नेमा जोड दिए।
उनले किसानलाई खान, बस्न, शिक्षा स्वास्थ्यका क्षेत्रमा सहुलियत दिनसकेमा उनीहरू खुसी भई कृषि उत्पादन वृद्धि हुने बताउँदै त्यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने र देशको समुन्नति हुने विश्वास व्यक्त गरे।