काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताएका छन्। बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उनले आफूले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।
उनले समाजले स्वास्थ्य सेवाका क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए। उनले भने, ‘आगामी दिनमा समाजले मकवानपुर केन्द्रीत गरी अझ व्यापक र फराकिलो ढंगले मानवीय र सामाजिक काममा भूमिका बढाउनुपर्छ, त्यसका लागि मेरो व्यक्तिगत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट सहयोग गर्न सधैं तयार छु ।
शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो। मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो निवासमा एक संक्षिप्त बधाइ कार्यक्रम राख्दै सबैलाई सफल कार्यकालको शुभकामना दिए।