काठमाडौं- नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई निश्चित व्यक्तिलाई पोस्न प्राइभेट कम्पनीलाई दिन खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर स्वास्थ्य बीमालाई कम्पनीमा लैजान खोजिएको बताए।
स्वास्थ्य बीमालाई व्यापारिकरण केही व्यक्तिलाई पोस्ने काम हुँदैछ, कुन व्यापारीका लागि तोकेको हो भन्ने पनि लेखेको भए हुन्थ्यो। यो कुनै अमूक व्यापारीका लागि ल्याइएको कार्यक्रम हो’, उनले भने ।
उनले गरिब तथा जेष्ठ नागरिकहरुले प्राप्त गर्दै आएको सेवा कटौती गर्ने उदेश्यले स्वास्थ्य बीमा कम्पनीमार्फत संचालन गर्न लागिएको बताए।सरकारले बिगतका बर्षहरु भन्दा यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा कटौती गरेको उनको भनाई छ।
बिहीबारकै बैठकमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पनि स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत् अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको विरोध गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले नबुझेको बताए। उनको प्रश्न छ, 'अन्य मन्त्रालयले ल्याएको कार्यक्रमका आधारभूत कुरा नै अर्थ मन्त्रालयले चलाउन पाउँछ? अर्थमन्त्रालय सुपर मिनिस्ट्री हो?
आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने बताए। अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उनको भनाइ छ।