काठमाडौं- कर्णाली प्रदेशसभा सदस्य दल रावलले सरकारी डाक्टरहरुको प्राइभेट प्राक्टिस बन्द गर्ने कानुनी व्यवस्था गर्न माग गरेका छन्। कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका रावलले चिकित्सकहरुमा सरकारीमा कम र प्राइभेटमा धेरै समय दिने बानी रहेको भन्दे सरकारी डाक्टरहरुको प्राइभेट प्रायाक्टिस बन्द गर्नुपर्ने बताए।
'कति बेला प्राइभेटमा गएर काम गरौ भन्ने मानसिकताको विकास भएको छ, बरु भत्ता वृद्धि गरौ र कमसेकम अफिस टाइममा सरकारी डाक्टरहरुले प्राइभेट प्रायाक्टिस बन्द गरौं।' कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै रावलले भने।
रावलले चिकित्सकलाई पनि ‘माननीय’ उपाधि दिन प्रस्ताव गरेका छन्। मानिसलाई जीवन दिने चिकित्सकलाई ‘माननीय’ उपाधि दिन प्रस्ताव गरे। ‘हामीले कर्णालीबाट नयाँ सुरुवात गरौ, मानिसको जीवन दिने चिकित्सकहरुलाई पनि हाम्रो प्रदेशमा माननीय उपाधि दिने व्यवस्था गरौं,’ उनले भने, हामी पाँच वर्षका लागि आएका सांसदहरुलाई माननीय भन्छौ भने डाक्टरलाई किन माननीय नभन्ने? तर, यो व्यवस्था ११ औं तह माथि वा प्रोफेसर स्तरका चिकित्सकलाई मात्र दिने व्यवस्था गर्नुपर्ने उनको माग छ।