काठमाडौं- नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीलाई अनशनशास्त्री भनेका छन्। संसदमा बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले डा केसीलाई लक्षित गर्दै रेडिमेड अनशनशास्त्री भनेका हुन्।
उनले शिक्षाका नाममा मात्र नेपालबाट ४४ अर्ब रुपैयाँ बाहिरिरहेको विषयमा जानकारी दिँदै नयाँ मेडिकल कलेज खोल्ने विषय आउँदा रेडिमेड अनशनशास्त्री अनशन बस्ने बताएका हुन्।
‘यहाँ नयाँ मेडिकल कलेज खोलौं वा अरु केही खोलौं भन्यो भने एक जना रेडिमेड अनशनशास्त्री हुनुहुन्छ। उहाँ अनशन बसिहाल्नुहुन्छ। त्यसपछाडि हामी बहकिन्छौं,’ संसदमा बोल्दै नेता ज्ञवालीले भने, '४४ अर्ब रुपैयाँ बाहिर गइरहेको छ भने त्यसको आधा मात्र यहाँ शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिरहेको पैसा त रोक्न सकिन्थ्यो।’
उनले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सीलेन्स बनाउने, प्राविधिक शिक्षा आवश्यकता लगायतका विषयमा पनि आफ्नो धारणा राखेका थिए।