काठमाडौं- रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका रामजी बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।
छात्रवृत्तिमा पढ्ने अवसर पाए पनि कलेजले विभिन्न शिर्षकमा लाखौं रकम माग गर्दै परीक्षाबाट बञ्चीत गराएका रामजीले विभिन्न अवरोधहरुलाई चिर्दै एमबीबीएस पास गरेका छन्।
एमबीबीएस उत्तीर्ण भएलगत्तै उनले सामाजिक सञ्जालमा खुशी साटेका छन्। उनले आफ्नो बुबालाई सम्बोधन गर्दै आफू एमबीबीएस उत्तीर्ण भएको जानकारी दिएका छन्। उनले आफ्नो अफ्ठेरो समयमा साथ दिने सबैलाई धन्यवाद समेत दिएका छन्।
'बुवा अन्ततः म एमबीबीएस पास भएँ। आजसम्मको परीक्षा यात्रामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिनु हुने सम्पुर्ण गुरुहरु, परिवार, इष्टमित्र एवं यो एमबीबीएस यात्राभरी साथदिने यूजीसी, नेसनल मेडिकल कलेज, आइओएम, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, पिडिआरसी, नेपाल मेडिकल काउन्सिल, सञ्चार मध्यम लगायत अप्ठ्यारो परिस्थितिहरुमा साथ दिनुहुने महानुभावहरु प्रति हार्दिक हार्दिक-आभार प्रकट गर्दछु!,' रामजीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले परीक्षाहरु अझै नसकिएको र जीवनका बाँकी परीक्षाहरुमा पनि हौसला, साथ र सहयोग गर्ने सबैसँग कामना गरेका छन्। 'परीक्षाहरु सकिएको छैन भने म विश्वस्त छु! किनकि एउटा चिकित्सकको परीक्षा रोगहरु र रोगका कारणहरुले हर हमेशा लिइरहेको हुन्छ! जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरु कहिले सकिन्न! जीवनका बाँकी परीक्षाहरुमा यहाँहरुको साथ, हौसला र सहयोग मिलोस भने कामना गर्दछु,' उनले लेखेका छन्।
रामजीले वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरेका हुन्। अध्ययनका क्रममा कलेज प्रशासनले उनलाई पैसा नतिरको भन्दै परीक्षामा सहभागी समेत हुन दिएको थिएन।
चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आइओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भएपनि नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा हलबाटै निकालिदिएको थियो।
छात्रवृत्तिमा पढेका उनीसँग नेसनल मेडिकल कलेजले पटक पटक गरेर लाखौं रकम मागेको थियो। अन्तिम वर्षको परीक्षाका समयमा कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको थियो।
२०७२ सालमा रामजीले नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन सुरु गरेका थिए। त्यसपछि उनलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन्।