फाइल तस्विर
रसुवा - स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि रसुवाका स्थानीयवासी उत्साहित भएका छन्। निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगङ्गा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएपछि उनीहरु उत्साहित भएका हुन्।
शिविरमार्फत आँखामा मोतियाबिन्दु भएका ५८ स्थानीय बासिन्दालाई सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताए। साथै थप एक जनालाई आँखामा मासु पलाएको समस्यासमेत शल्यक्रियाबाट समस्या समाधान गरिएको थियो।
शल्यक्रिया सम्पन्न गराउन कालिका गाउँपालिका–२ तथा कालिका युवा क्लबसमेतका संस्थाले सहयोग गरेका थिए। आँखाको शल्यक्रिया गर्न काठमाडौँ जानुपर्नेमा स्थानीयस्तरमा सेवा पाउँदा खुशी लागेको स्थानीय कुलप्रसाद घिमिरेले बताए। रसुवाका पाँच गाउँपालिकाका बासिन्दाले शल्यक्रियाको सुविधा पाएका छन्। रासस