काठमाडौं - नेपाल जनस्वास्थ्य संघले बीमा कम्पनी मार्फत स्वास्थ्य बीमा गर्ने निर्णयको विरोध गरेको छ। संघले एक विज्ञप्ति जारी गरी स्वास्थ्य बीमालाई नाफामूलक ढंगबाट कुनै पनि कम्पनी मार्फत सञ्चालन गर्न नहुने भन्दै उक्त निर्णयको विरोध गरेको हो। आर्थिक वर्ष २०७९/८० को बजेट वक्तत्वमा बीमा कम्पनी मार्फत स्वास्थ्य बीमा सञ्चालन गर्ने निर्णय गरेको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रावधान अनुसार सामाजिक सुरक्षाको एउटा अभिन्न अंगको रुपमा रहेको स्वास्थ्य बीमालाई नाफामूलक ढंगबाट कुनै पनि कम्पनी मार्फत सञ्चालन गरिएमा नेपाली जनताको स्वास्थ्य सम्बन्धी संवैधानिक हक तथा नेपाल सरकारले गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धताको प्रतिकूल हुने देखिन्छ।’
कम्पनी मार्फत स्वास्थ्य बीमा सञ्चालन भए स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्ने सरकारी उद्देश्य हासिल गर्न नसकिने संघको भनाई छ। सामाजिक स्वास्थ्य बीमामा लगानी सुनिश्चितता गर्न सरकारको स्वामित्वमा नै बीमा सञ्चालन गर्नुपर्ने भन्दै उक्त निर्णय सच्याउन संघको माग छ।
‘बजेट वक्तत्वमा रहेको स्वास्थ्य बीमालाई बीमा कम्पनी मार्फत सञ्चालन गरिने भन्ने विषयलाई सच्याएर सरकारको स्वामित्व तथा स्वास्थ्यको क्षेत्राधिकारमा नै सामाजिक स्वास्थ्य बीमा मार्फत स्वास्थ्य सेवा प्रदान गरी जनताको संवैधानिक स्वास्थ्य हक तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताको पालना गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं’ संघका अध्यक्ष बसन्त अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।