काठमाडौं - साताको दुई दिन अस्पताल बन्द हुँदा भरतपुर अस्पताललाई सेवा दिन समस्या भएको छ। शनिबार र आइतबार अस्पताल बन्द हुँदा बिरामीलाई सेवा दिन समस्या भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बताए।
दुई दिन बन्द हुँदा सोमबार र मंगलबार बिरामीको भीड अत्यधिक बढ्ने गरेको उनले बताए। एकै पटक धेरै बिरामी आउँदा भीड बढ्ने गरेको र व्यवस्थापनमा समस्या हुने गरेको उनले सुनाए। डा पौडेलका अनुसार बिरामीको भीड बढ्दा सेवाको गुणस्तरीयता कायम गर्न समस्या हुने गरेको छ।
उनले भने, ‘आइतबार पनि बिदा हुँदा सेवा गर्न समस्या भइरहेको छ। दुई दिन बन्द भएपछि बिरामीहरु एकै पटक आउँछन्। भीड बढ्छ। असुन्तुष्टी बढ्छ। अनि सेवाको गुणस्तरीयता पनि भएन।’
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सञ्चालनका लागि भनिएपनि सरकारी बिदा लागू हुनुपर्ने उनीहरुले बताउने गरेको डा पौडेलले जानकारी दिए। बिरामीको चाप धेरै हुने भएकाले आइतबार भने अस्पतालले पेइङ सेवा सञ्चालन गरेको छ।
सेवा लिन आउने अधिकांश बिरामी बीमा अन्तर्गतको हुने गरेका छन्। दैनिक १७ सय बिरामी आउँदा १२ सय जति स्वास्थ्य बीमाका बिरामी हुन्छन्। अन्य बेला पनि ओपिडीमा सेवा लिन आउने कुल बिरामीमध्ये ५५ प्रतिशत स्वास्थ्य बीमा अन्तर्गतका बिरामी हुने गरेको अस्पतालले जनाएको छ।
सेवामा भन्दा पनि बढीभन्दा बढी बीमा कार्ड बाँड्नमा मात्र सरकार केन्द्रित हुँदा अनावश्यक रुपमा बिरामीको भीड बढेको र गुणस्तरीय सेवा दिन नसकिएको उनको भनाई छ।
‘चिकित्सकहरुलाई सेवा सञ्चालन गर्न भनेपनि राजपत्रमै बिदा भनेर आएको छ आउँदिन भन्छन्।’ उनले भने, ‘दैनिक सेवा लिन आउनेमा बीमाको बिरामी नै धेरै हुन्छन्। बीमा अन्तर्गत सेवा लिन आउने बिरामीको भीड व्यवस्थापन गर्न नै गाह्रो छ।’ उनले भने।
अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले पाँच दिन ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ। यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो।
१५ शय्याबाट सुरु भएको अस्पतालको सेवा हाल ५५० शय्यामा सञ्चालित छ। भरतपुर अस्पतालमा मेडिसिन, सर्जरी, गाइनो, जेरियाट्रिक, पेडियाट्रिक, अर्थोपेडिक्स, इएनटी, स्कीन, रेडियोलोजी, प्याथोलोजी, साइकाइट्रिक्स, न्यूरो सर्जरी, सिटिभीएस, डेन्टल र कार्डियोलोजी गरी १७ वटा क्लिनीकल डिपार्टमेन्ट सञ्चालित छन्।
हाल भरतपुर अस्पतालमा ७५० जना कर्मचारी छन्। जसमध्ये १७५ दरबन्दी मात्र सरकारी हो। १२० जना ठेकेदार मार्फत करार सम्झौतामा र बाँकी अस्पतालको विकास समितिबाट करार र दैनिक ज्यालादारीमा छन्।