काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीबाट पठाएका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बिहान बसेको सचिवालय बैठकमा सरकारमा आफ्नो पार्टीले पाएको मन्त्रालयमा मन्त्री हेरफेरको विषय उठेको हो।
बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडासहित नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका ६ जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो।
पार्टीका सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय भएको जानकारि दिए। 'हामीले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेका छौं। अब उहाँहरु फिर्ता हुनुहुन्छ' उनले स्वास्थ्यखबरसँग भने।
निर्णय गर्ने अधिकार भने अध्यक्ष माधव नेपाललाई दिएको छ। पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको छ।
सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।
उनले भने, 'मन्त्रीका विषयमा सामान्य छलफल भएको छ। शीर्ष नेताहरुको बीचमा छलफल भएर उहाँहरुले कति उपयुक्त ठान्नुहुन्छ, त्यही अनुसार हुन्छ। खाशगरी अध्यक्ष कमरेडले यसबारे निर्णय लिनुहुन्छ।'
उनले पार्टीले आवश्यकता ठानेर जिम्मेवारी दिएको र त्यहीअनुसार फर्काउन सक्ने बताए। उनले थपे, 'उहाँहरुको विषयमा समीक्षा हुन्छ। पार्टीले आवश्यक ठान्यो भने फिर्ता बोलाउँछ र नयाँ साथीहरुलाई जिम्मेवारी दिन्छ। यसलाई स्वभाविक रुपमा लिनुपर्छ। व्यक्तिगत स्वतन्त्रता पार्टीको हित भन्दा तल हुन्छ।'