काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र रोटरी क्लब वानेश्वरको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
स्थानीय आनन्द भैरव माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ९२१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये २३३ जनाको रक्त परीक्षण, १९६ जनाको भिडियो एक्सरे र १०७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
दाँतमा समस्या भएर शिविरमा आएका २७ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ३२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ।
यसअघि केएमसीले बिहीबार र शुक्रवार नुवाकोटको विदुर नगरपालिकामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।