काठमाडौं- काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान थनलिएको छ।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।
सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ। फोहोरमैलाबाट पर्ने स्वास्थ्य समस्या सम्बोधन गर्न स्वास्थ्य बिमा गरिने प्रतिबद्धतापत्र उल्लेख छ।
यसका लागि काठमाडौं महानगरले धुनिबेसी नगरपालिकाका वडा नम्बर १, ३, ४ र ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई नेपाल स्वास्थ्य बिमा बोर्डबाट स्वास्थ्य बिमा गर्नेछ। यो कामको सुरूआत एक साताभित्र गरिनेछ। यस्तै सहमतीमा प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शैयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरिनेछ।
वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरका उपमेयर मन्जली शाक्य, सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, बञ्चरेडाँडा आयोजना निर्देशक रवीन्द्र बोहोरा लगायतको सहभागिता थियो।
यता सहरी विकास मन्त्रालयले सिसडोल र बञ्चरेडाडाँका जनप्रतिनिधिहरूलाई राखेर सोमबार राति गरेको सम्झौता त्यहाँका स्थानीय बासिन्दाले मान्न अस्वीकार गरेपछि फोहोर विसर्जनमा अवरोध आएको छ।
उक्त सम्झौतापछि मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने र बञ्चरेडाँडाको डम्पिङ साइटमा विसर्जन गर्ने भनिएको थियो। स्थानीयको असहमतिपछि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।