काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको जानकारी दिए।
उनका अनुसार सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ।
तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।
पहिलो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाउने तयारी छ।
बालबालिकालाई दिइने उक्त खोप कोभ्याक्स मार्फत केही नेपाल आइसकेको छ भने केही आउने चरणमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।