काठमाडौं- नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिको बैठक धनुषामा सम्पन्न भएको छ। बैठकले विभिन्न १८ निर्णय गरेको छ।
बैठकले सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्थानीय भत्ता उपलब्ध गराउन माग गरेको छ।
विभिन्न सेवा समूह, उपसमूहमा बहाल रहेका निजामति कर्मचारीहरु कर्मचारी समायोजन ऐनको एउटै विधी र प्रकृयाबाट स्थानीय तहमा पठाईए पनि अन्य सेवा समूहका कर्मचारीहरूलाई स्थानीय भत्ता दिएको तर स्वास्थ्यकर्मीहरुलाई उक्त भत्ता नदिएको भन्दै युनियनले स्वास्थ्यकर्मीहरुलाई स्थानीय भत्ता उपलब्ध गराउन माग गरेको छ।
त्यस्तै स्वास्थ्यकर्मीहरुको स्थानीय ग्रेड खुवाउन सम्बन्धित निकायमा पहल गर्ने युनियनले निर्णय गरेको छ।
सातै प्रदेशका प्रादेशिक कार्यालय, अस्पताल तथा अन्य निकायहरु , स्थानीय तह अन्तर्गतका महानगर, उपमहानगर, नगर र गाउँमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरु एवं अन्य निकायहरुको एकरुपता हुनेगरी जनसंख्याको आधारमा दरबन्दी पुनर्संरचना गर्न र सम्बन्धित संस्थाको नाम दरबन्दी संख्यामा पनि एकरुपता हुनेगरी व्यवस्थापन गर्न ओ एण्ड एम सर्वेक्षण गर्दा ट्रेड युनियनका पदाधिकारीहरु समेत राखि कार्य गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने पनि युनियनले निर्णय गरेको छ।
हेर्नुहोस युनियन बैठकले गरेका निर्णहरु:
१) सरकारी सेवामा कार्यरत, विभिन्न सेवा , समूह ,उपसमूहमा बहाल रहेका निजामति कर्मचारीहरु कर्मचारी समायोजन ऐनको एउटै विधि र प्रकृयाबाट स्थानीय तहमा पठाईएको र समायोजित अन्य सेवा समूहका कर्मचारीहरूलाई स्थानीय भत्ता दिएको तर स्वास्थ्यकर्मीहरुलाई उक्त भत्ता नदिएको भन्ने गुनासो यत्रतत्र आईरहेको हुँदा अन्य सेवाका कर्मचारीहरु सरह स्वास्थ्यकर्मीहरुलाई पनि नियमानुसार पाउने स्थानीय भत्ता उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने ।
२) स्थानीय तहमा समायोजन भई गएका स्वास्थ्यकर्मी र अन्य सेवाका कर्मचारीहरुबीच असमान हिसाबले ग्रेड संख्या हुनेगरी आफूखुशी संघमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्धारण गरेको ग्रेड संख्यालाई आधार मानि स्वास्थ्यकर्मीहरुको ग्रेड संख्या निर्धारण गरेको हुँदा स्थानीय तहमा समायोजित सबै कर्मचारीहरुमा एकरुपता हुनेगरी स्थानीय तहका कर्मचारीहरुलाई निर्धारण गरेको ग्रेड खुवाउन सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
३) स्वास्थ्य सेवामा तहगत प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई श्रेणीगत प्रणालीमा आधारित रहेका कर्मचारीहरु समायोजन गर्न बनेको सफ्टवेयरमा हालेर एक तह पनि नदिई बिभेद गरेको र पद, तह, पदनाम र कार्यविवरण समेत फरक पर्ने गरी समायोजन गरीएको साथै पछि समायोजन मिलाउने क्रममा दोहोरो सहमतीको नाममा दरबन्दी बिना समायोजन मिलान गरी तलब भत्ता समेत खान अप्ठयारो पारिएको हुँदा त्यस्ता कर्मचारीलाई समायोजन भई गएको स्थानीय तहमा नै दरबन्दी सिर्जना गरी उक्त दरबन्दी किताबखानामा दर्ता गराई नियमानुसार तलव भत्ता खुवाउने व्यवस्था मिलाउन सम्बन्धित निकायमा पहल गर्ने।
४) समायोजन मिलान भई स्थानीय तह र प्रदेशमा गएका कर्मचारीहरुको काज, सरुवा, बिदा स्वीकृत गर्न सम्बन्धित तहको कानून अभावका कारण कर्मचारीहरुलाई पर्न गएको मर्का निवारणका लागि सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
५) नियमित रूपमा भईरहेको स्तरबृद्धि प्रकृयालाई विभिन्न बहानामा जटिल बनाईएको र स्वास्थ्यकर्मीमा प्रक्रियागत अप्ठेरो सिर्जना गरिएको हुँदा नेपाल स्वास्थ्य सेवा ऐनको दफा ९ बमोजिम योग्यता पुगि दर्ता हुन आएका फाईलहरु यथासिघ्र केलाई स्तरबृद्धि प्रकृयालाई अगाडि बढाउन सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
६) कर्मचारीहरुको बृद्धि विकासको मेरुदण्ड कार्य सम्पादन मूल्यांकन फाराम समयमै भरी तत् तत् निकायमा बुझाउने, सुपरिवेक्षक, पुनरावलोकनकर्ता, र पुनरावलोकन समिति बनाई सम्बन्धित तहमै मूल्यांकन गर्ने र चाहिएको बखत गोपनियता का साथ सहज उपलब्ध हुने व्यबस्था मिलाउने साथै मूल्यांकन सम्बन्धमा राज्यका सबै तहमा एकरुपता कायम गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
७) सातै प्रदेशका प्रादेशिक कार्यालय, अस्पताल तथा अन्य निकायहरु , स्थानीय तह अन्तर्गतका महानगर, उपमहानगर, नगर र गाउँमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरु एवं अन्य निकायहरुको एकरुपता हुनेगरी जनसंख्याको आधारमा दरबन्दी पुनर्संरचना गर्न र सम्बन्धित संस्थाको नाम दरबन्दी संख्यामा पनि एकरुपता हुनेगरी व्यवस्थापन गर्न 'ओ एण्ड एम' सर्वेक्षण गर्दा ट्रेड युनियनका पदाधिकारी हरु समेत राखि कार्य गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
८) सरकारको नीति बमोजिम स्थानीय तहमा बन्ने नयाँ आधारभूत अस्पतालको वेड संख्या बराबर गर्ने, आवश्यकता र औचित्यताका आधारमा प्राथमिकीकरण गरी अस्पताल निर्माण थालनी गर्ने, स्वास्थ्य संस्था मर्मत सोर्स फोर्सका आधारमा नगरी स्थानीय आवश्यकता र भवनको जिर्णताको स्थिति अवलोकनका आधारमा गर्ने, डिपिआर गर्ने प्राविधिक मन्त्रालयका कर्मचारीले देखाईदिने भन्ने गुनासो आएकोले उक्त गुनासो सम्बन्धित निकायमा तत्काल पुर्याई त्यस्ता गलत कार्यको निराकरण गर्ने लगायतका कुराहरुमा सम्बन्धित निकायमा यथासिघ्र पुर्याउन पहल गर्ने।
९) स्वास्थ्य सेवा ऐन अलग्गै राख्न पहल गर्ने साथै स्वास्थ्य सेवालाई संघ अन्तर्गत राखि कर्मचारी योजना, संस्थागत योजना,कर्मचारी परिचालन, बृद्धि विकास,खटनपटन संघले नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने।
१०) राज्यका सबै तहबाट स्वास्थ्य सेवालाई परिचालन तथा व्यवस्थापन गर्न बन्ने ऐन, नियम, निर्देशिका, मापदण्ड, कार्यविधी बनाउँदा ट्रेड युनियनका पदाधिकारीहरु राखेर मात्र बनाउन सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
११) बागमती प्रदेशले हालै जारी गरेको अध्यादेश नेपालको विद्यमान प्रचलित ऐन, कानूनको विपरित भएको र स्वास्थ्य सेवा ऐन जीबित रहँदा रहँदै उक्त ऐनसंग बाझिनेगरी ल्याईएको हुँदा सो ऐन खारेजीको माग गर्ने।
१२) प्रदेश अन्तर्गत रहेका स्वास्थ्य कार्यालयहरुमा दरबन्दी र सेवा बृद्धि गरी स्थानीय तहलाई नियमन गर्ने अधिकार दिनुपर्ने साथै स्थानीय तहका स्वास्थ्य शाखामा प्लानरहरुको दरबन्दी राखि जनस्वास्थ्य कार्यक्रमलाई अभिबृद्धि गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
१३) प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीलाई राष्ट्रिय निजामति किताबखानाले दर्ता नगरेको हुँदा प्रदेश निजामति किताबखानाको स्थापना गरी नयाँ सिफारिस भएका कर्मचारीहरुको सिटरोल दर्ता गर्ने र सबै स्थानीय तहका वडाहरुमा खोलिएका स्वास्थ्य संस्थाको संस्था तथा दरबन्दी दर्ता गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
१४) नेपाल स्वास्थ्यकर्मी युनियनको स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु यहि २०७९ माघ मसान्तसम्म सम्पन्न गरी केन्द्रीय महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरु छनौट गरी पठाउन सम्बन्धित प्रदेशलाई जिम्मेवारी दिने।
१५) २०७९/०२/१३ गतेको सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्ने।
१६) नेपाल स्वास्थ्यकर्मी युनियनमा आबद्ध रही लामो समयसम्म नेपाल सरकारको सेवामा अनवरत रही सेवा निवृत्त हुनुभएका पदाधिकारी तथा सदस्य साथीहरुलाई आगामी केन्द्रीय महाधिवेशनबाट दीर्घ सेवा सम्मानबाट सम्मानित गरी केन्द्रीय परिषदमा क्रियाशिल गराई राख्ने ।
१७) मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष श्री उपेन्द्र राउत नेपाल स्वास्थ्यकर्मी युनियनले गरेका प्रशंसा योग्य कार्यबाट प्रेरित भई नेपाल स्वास्थ्यकर्मी युनियनको विधानमा सम्माहित हुनुभएकोले उहाँलाई आजीवन सदस्यता प्रदान गरी केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गर्ने साथै विविध कारणले निस्कृय रहनुभएका नेपाल स्वास्थ्यकर्मी युनियनका आजीवन सदस्य श्री प्रमोद कुमार पण्डितलाई केन्द्रीय कार्यसमितिको सदस्य मा मनोनित गर्ने ।
१८) विविध:-
* अध्ययन तथा असाधारण बिदालाई सहज बनाई ऐन नियम बमोजिम तोकिएको मापदण्ड पुरा गरी पेश भएका फाईलहरु तत्काल कार्यान्वयन गराउन पहल गर्ने।
* विविध कारणले फाजिलमा रहेका र मूल समायोजन नै नभएका स्वास्थ्यकर्मीहरुको तत्काल समायोजन तथा व्यबस्थापन गराउन पहल गर्ने। तत् अवधिसम्म संघिय सरकारले नै तलब भत्ताको व्यवस्था मिलाउन सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
* २०५७ अघि प्राविधिक पदमा नियुक्त हुने कर्मचारीहरु लाई दिईदै आएको प्राविधिक ग्रेड २०५७ पछि नियुक्त हुने प्राविधिक हरुले नपाएको हुँदा प्राविधिक पदमा नियुक्त हुने सबै स्वास्थ्यकर्मीहरुलाई समान रुपमा प्राविधिक दुई ग्रेड कायम गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
* समायोजन ग्रेड स्तरबृद्धिपछि नदिएको, पेन्सनमा नजोडेको देखिएकोले समायोजन ग्रेड उत्प्रेरणा स्वरुप पुरस्कार वापत दिईएको हुँदा सम्बन्धित कर्मचारी समायोजन भएको तहमा बहाल रहुन्जेल सम्म यथावत राख्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।